राणाकालमा गाडी बोकेर ल्याएको बाटो कालोपत्र सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी

By Admin

• Published on Apr 23, 2025

राणाकालमा गाडी बोकेर ल्याएको बाटो कालोपत्र सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी

पोखरा १०गते 

राणाकालीन प्रधानमन्त्री वीरशमशेरको पालामा मानिसहरूले काँधमा गाडी बोकेर ल्याएको बाटो अब पिच हुने भएको छ।

सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार थानकोट-चन्द्रागिरी–चित्लाङ सडक खण्डमा अब पिच गर्ने काम सुरु भइसकेको छ। ‘काम अघि बढाइसकेका छौं, दुई वर्षभित्रै यो बाटो पूरै पिच भइसक्ने छ’, भण्डारीले भने, ‘यही बाटोमा राणाकालमा मान्छेहरूले काँधमा गाडी बोकेर ल्याएकाले उक्त बाटो महत्त्वपूर्ण छ।’

२२ किमि लामो उक्त बाटो पिच बनाउन कुल एक अर्ब ४६ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ। यसअघि यस बाटोमा ६० करोड रूपैयाँ खर्च भइसकेको छ। चालु आवमा सडक डिभिजनले तीन प्याकेजमा ठेक्का आह्वान गरेको छ। पहिलो प्याकेजमा ६ करोड, दोस्रो प्याकेजमा १५ करोड र तेस्रो प्याकेजमा २५ करोड रूपैयाँ लागत अनुमान राखी ठेक्का आह्वान गरिसकिएको छ।

प्रमुख भण्डारीका अनुसार पहिलो प्याकेजमा ठेक्का आह्वान भई ठेकेदारसँग सम्झौता समेत भइसकेको छ। विएसपी महालक्ष्मी जयश्री कम्पनीसँग डिभिजनले पहिलो प्याकेजमा तीन करोड ९७ लाख रूपैयाँमा सम्झौता गरिसकेको छ। दोस्रो र तेस्रो प्याकेजमा सम्झौता हुन बाँकी रहेको काठमाडौं डिभिजनले जनाएको छ। यस सडकलाई पिच गर्दा एउटा पनि पुल बनाउनु पर्दैन।

चन्द्रागिरी– चित्लाङ सडक पिच भए चित्लाङसम्म उपत्यकाबासीलाई आवातजावत गर्न सहज हुने छ। यसबाट चित्लाङमा आन्तरिक पर्यटन थप बढ्ने अनुमान गरिएको छ। चित्लाङमा मदन भण्डारी विश्वविद्यालय छ। बाटो पिच हुँदा उक्त विश्वविद्यालयलाई टेवा पुग्ने छ। यसैगरी काठमाडौंबाट हेटौडा जाने वैकल्पिक राजमार्ग पनि बन्ने छ। साथै यसबाट छोटो दूरीमा कुलेखानी ड्यामसम्म पुग्न सकिन्छ।

सडक डिभिजन काठमाडौंका अनुसार चन्द्रागिरी चित्लाङ सडक दुई लेनको हुने छ। सडकको चौडाइ आठ मिटर हुने छ। उक्त सडक पिच भए थानकोटबाट चित्लाङ आधा घण्टामा पुग्न सकिनेछ।

गत असोज ११ र १२ गते आएको अबिरल वर्षाले उक्त खण्डको सडक पूरै बिगारेको थियो। त्यसको दुई दिनमै सडक डिभिजन काठमाडौंले उक्त बाटो खुलाएको थियो। त्यतिबेला वर्षाले भत्किएका अन्य बाटो खुलिसकेका थिएनन्। त्यसैले उक्त बाटो खुल्ने बित्तिकै काठमाडौंबाट हेटौडा जान अत्यधिक प्रयोग गरिएको थियो।

गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण भत्किएका चन्द्रागिरी –चित्लाङ खण्डसहित २६ वटा सडक तथा पुलहरूको स्थायी किसिमबाट पुनर्निर्माण गर्न अर्थ मन्त्रालयले गत फागुनमा मात्र स्रोत सुनिश्चित गरेको थियो।

अर्थले गत फागुनमा वर्षाले भत्काएका १३ वटा राजमार्ग तथा १३ वटा पुलको पुनर्निर्माण गर्न १८ अर्ब ८८ करोड २० लाख रूपैयाँको स्रोत सुनिश्चित गरेको थियो। भत्किएका सडक तथा पुल पुनर्निमाण गर्न अर्थले सडक विभागलाई चालु आवमा तीन अर्ब ६६ करोड सात लाख रूपैयाँ उपलब्ध गराउने भएको छ। यस काममा अर्थले विभागलाई ६० करोड २४ लाख रूपैयाँ गत फागुनमै उपलब्ध गराएको थियो।

भौतिकले भने गत मंसिरमै अर्थसँग पैसा मागेको थियो तर अर्थले विभिन्न कारण देखाउँदै स्रोत सुननिश्चित गर्न ढिलो गरेको थियो। थानकोट–चन्द्रागिरी– चित्लाङ सडक पिच नहुँदा यसअघि पटक पटक ठूूला दुर्घटना भएका थिए। बाटो पिच भएपछि दुर्घटना कम हुने अनुमान गरिएको छ।

इतिहासकारका अनुसार वीरशमशेरको पालामा काठमाडौंमा गाडी भिœयाउन वीरगञ्जदेखि मकवानपुरको भीमफेदीसम्म नयाँ बाटो खन्न लगाइएको थियो। सोही बाटो प्रयोग गरेर चित्लालङ, चन्द्रागिरी थानकोट हुँदै काठमाडौंमा गाडी ल्याइएको थियो। लामो समयसम्म चित्लाङ, चन्द्रागिरी थानकोट बाटो पिच हुन सकेको थिएन।